द एल्केमिस्ट, जीवनको खोज र अफ्रिकन पिरामिड –प्रकाश थापा


 A WRITING ON PAULO COEHLO'S THE ALCHEMIST BY PRAKASH THAPA

द एल्केमिस्ट, जीवनको खोज र अफ्रिकन पिरामिड

–प्रकाश थापा


द एल्केमिस्ट ब्राजिलियन लेखक पाउलो कोयलोको विश्वप्रसिद्घ पुस्तक मध्येको एक मानिन्छ । मूलतः यस पुस्तक आख्यान एवम् दर्शनशास्त्र विधामा लेखिएको एक बहुमूल्य पुस्तक हाे । खासगरी यो स्पेनको एन्डालुसिया क्षेत्रमा बस्ने एक युवाको जीवन समबन्धी खोजको कथा हो, जुन उसले स्पेनबाट उत्तरी अफ्रिका हुँदै अन्ततः इजिप्टको पिरामिडसम्म पुगेको हुन्छ । लेख अत्यन्त सकारात्मक , जीवनमुखी र मूलतः मानिसमा अन्तर्निहित खोज, सपना या चाहनामा आधारित छ । 


स्पेनको एन्डालुसिया प्रान्तको गाउँको एक प्राचीन गिर्जाघरमा स्यान्टियागो बास बस्न आइपुग्छ । चर्चका छानाहरु भत्किसकेका हुन्छन्। चर्चघर धेरै पुरानो हुन्छ । उः सँग केही भेँडाहरु हुन्छ्न् । अचानक त्यस रात उसले एउटा पुरानो सपना देख्छ जसलाई उसले यसअघि पनि एकपटक देखेको थियो ।

 

उसले सपनामा देख्छ कि त्यहाँबाट हजारौँ माइल पर इजिप्टको पिरामिड भएको भागको नजिक प्रशस्त धनसम्पत्ति तथा असर्फी गाडिएको हुन्छ । र यही सपनाको कारणबाट केटोको जीवनको दिशा अर्कैतिर मोडिन पुग्छ । त्यस रात उसले आफूसँग भएका एक सानो पुस्तकलाई सिरानी बनाउँछ, जसलाई उसले भर्खरमात्र पढेर सिध्याएको हुन्छ । उसले सोच्छ, अर्को पटक भने उसले यो भन्दा धेरै मोटो पुस्तक पढ्नेछ ता कि एउटा कुरा त यस्तो किताब धेरै लामो समयसम्म पढ्न सकिनेछ भने अर्कोतिर यस प्रकारको मोटो किताबले राम्रो र आरामदायी सिरानीको काम गर्नेछ ।


यसप्रकार केटो एन्डालुसिया प्रान्तका गाउँहरुमा यसैगरी भेँडाका बथानहरूसंग क्रमशः हिँडिरहेको हुन्छ । र केटोले सोच्यो कि प्रायशः यात्रुहरु समुद्रमा कामगर्ने मानिसहरु नै संसारभर घुमिहिँड्ने गर्थे र जसका कारण ती मानिसहरु उसको विचारमा स्वतन्त्र र खुखी मानिसहरु थिए । यसै भएर पनि उसलाई एन्डालुसियाको गाउँघरहरु भन्दा धेरै धेरै पर का संसारसम्म घुम्न जाने तीव्र इच्छा भयो ।


विशेषतः द एल्केमिस्टले संसारका प्रत्येक मानिसहरुमा एउटा यस्तो व्यक्तिगत चाहना शक्ति, खोज या सपना हुन्छ भन्ने कुरालाई मान्छ जसलाई पुरा गर्न उसले दृढता लियो मात्र भने सिङ्गो ब्रह्माण्डको अस्तित्व अर्थात् ब्रह्माण्डीय आत्माले त्यसलाई पुरा गर्न सहयोग गर्नेछ र जसका कारण प्रत्येक व्यक्तिका इच्छाहरु अन्ततः पुरा हुने छन् । 

यस कथामा विम्ब तथा प्रतीकहरुको पनि प्रयोग गरिएको छ जस्तै पिरामिड, मरुभूमि, गिर्जाघर, मरुद्यान, प्रकृति, यात्रा, किमियागर आदि । 


स्यान्टियाोका बाबुआमा वास्तवमा उसलाई चर्चघरको पादरी बनेको हेर्न चाहन्थे । उनीहरु भन्थे कि, ‘एन्डालुसिया प्रान्ततिर मानिसहरु घुम्न आउँछन् र केही नयाँ कुरा सिक्न चाहन्छन् । तर मानिसहरू धुम्न सक्ने भनेको जो सँग केही पैसा छ अक्सर तिनीहरू नै हुन् । हाम्रो गाउँघरतिर घुम्न जान सक्ने भनेको बरु भेँडा गोठालाहरु नै हुन् किनकि उनीहरु आफ्ना भेँडाका बथानहरुसँग एक ठाउँ– देखि अर्को ठाउँसम्म जान सक्छन् । ’ यस्तो सुनेर केटोले तत्काल भनिहाल्यो, ‘त्यसो हो भने त म गोठाला नै बन्न चाहन्छु र आफ्ना भेँडाका बथानहरु लिएर संसार घुम्न चाहन्छु , अग्ला अग्ला किल्लाहरु हेर्छु, डाँडाहरु चढ्छु र नया ठाउँहरु घुम्छु । 


र नभन्दै केटाले भेँडा गोठाला कै बाटो नै रोज्यो र जसका कारण एन्डालुसियाबाट क्रमशः अघि बढ्दै संसारका नयाँ ठाउँहरु  नियाल्न सकियोस । यसप्रकार द एल्केमिस्ट एक प्रकारको मानिसको खोजको यात्रा हो । हरेक मानिस वास्तवमै आफ्ना झर्कोलाग्दा दैनिकीहरुभन्दा माथि उठेर संसारका नयाँ नयाँ ठाउँहरु हेर्न चाहन्छन्, घुम्न चाहन्छन्। यो नै मानिस हुनुको परिचायक हो, विशेषता हो । र केटो हमेशाा सोच्थ्यो कि यात्रामा निस्कनु नै जीवनको सार हो । यात्रा भनेको गतिशीलता हो , परिवर्तन हो, नयाँपन हो जीवन बाँच्नुको । तसर्थ उसलाई लाग्थ्यो कि धन सम्पत्ति थुपार्नुभन्दा जीवनका नयाँ आयामहरुलाई बुझ्नु, आत्मसात गर्नु नै वास्तविक अर्थमा जीवन बाँच्नु हो ।


यसप्रकार केटो लगातर दुई वर्षसम्म एन्डालुसियाका प्रान्तहरुमा घुमिहिँड्यो र मानिसका जीवनका विविधताहरुलाई नजिकबाट नियाल्यो, अवलोकन ग–यो, अनुसन्धान ग–यो र जीवनलाई आफ्नै ढङ्गबाट बुझ्याे् । 


केटोको अनुसार संसार सपना देख्नेहरुका लागि हो, घुम्ने र नयाँ खोज गर्नेहरुका लागि हो । र लेखकका अनुसार चाहे मानिस एकदम साधारण नै किन नहोस तर ब्रह्माण्डीय अस्तित्वगत संरचना निर्माणमा प्रत्येक मानिसको केन्द्रीय भूमिका हुन्छ, महत्व हुन्छ । 


त्यसो त सुरुमा द एल्केमिस्ट सन १९९८मा जम्म ९०० प्रति बिकेको थियो भने प्रकाशकले अरु अगाडि यसको प्रकाशन नगर्ने सङ्केत समेत गरेका थिए। यद्यपि हाल यो संसारका दर्जनौँ भाषाहरुमा अनुवाद भइसकेको छ भने यसको ६५ मिलियन प्रति बिक्री पनि भइसकेको छ । 


द एल्केमिस्टको अनुसार मानिसहरुसँग अनन्त सपनाहरु हुन्छन् । अनि हाम्रा सपनाहरु मरुभूमिले खोसेर लैजान्छन्, अप्ठ्यारा परिवेशहरुले टुटाउँछन्, र ती सायद फर्कदैनन् । तर जब सपनाहरु कतैबाट, कहीँबाट फर्कदैनन् तब ती सपनाहरु जताततै छरिन्छन्ः बादलहरुमा, आकाशमा, हावाहरुमा, जङगलमा तथा पानीका बहावहरुमा । र यसप्रकार ती पुरा नभएका मानिसका सपनाहरु अन्ततः ब्रह्माण्डका कण कणहरुमा पुग्छन् र पुनः फर्कन्छन् मानिसहरुमा । तर मानिस र प्रकृतिको बिचमा एउटा गहिरो एवम् रहस्यमय समीकरण बनेको हुनुपर्छ, एउटा सम्बन्ध स्थापित भएको हुनुपर्छ । 


यसप्रकार सपनाहरु एक अर्थमा ब्रह्माण्डका अदृश्य आवाजहरु हुन्, ईश्वरका आवाजहरु हुन् जुन मानिसका सपनाहरु भएर प्रकट हुन्छन्, तर मानिसले गहिरोसँग ती सपनाहरुलाई समात्न सक्नुपर्छ, विश्वास गर्न सक्नुपर्छ र त्यसलाई ब्रह्माण्डका मौनताहरु सँग साट्न सक्नुपर्छ । 

अथवा यो करिब विज्ञानले भनेजस्तै हामीहरु अणुले बनेका हुन्छौँ, चलायमान छौँ, सापेक्ष छौँ, अनि हाम्रा इच्छाहरु ब्रह्माण्डका इच्छाहरु हुन् किनकि हामीमा भएका अणुहरु अन्ततः ब्रह्माण्डकै हिस्सा हुन्, त्यसैले ब्रह्माण्डको आत्मा ले नै हाम्रा मनका सपनाहरु पुरा गरिदिन्छन् । यही नै एक खास अर्थमा पाउले कोयलोको द एल्केमिस्टको परिकल्पना हो । 


अनि कोयलोका अनुसार ईश्वरले हामीलाई सपनाका माध्यमहरुबाट केही कुरा भनिरहेका हुन्छन्, जसलाई हामीले बुझ्न, आत्मसात गर्न सक्नुपर्छ । हामीलाई हाम्रा उद्देश्य एवम् सपनाहरुका बारेमा केही सङकेत , केही लक्षणहरु हमेशा प्राप्त भइरहन्छन् तर तिनलाई बुझ्न मात्र सक्नुपर्छ । 

कोयलोका अनुसार हाम्रो हृदय एक अर्थमा हाम्रो मनको एक यस्तो शक्तिशाली केन्द्र हो जसबाट हामीले हाम्रा आशा, सपना, इच्छा तथा अभिलाषाहरु एवम् माया प्राप्त गर्न सक्छौँ भने उनका अनुसार मस्तिष्क विचारजन्य हुन्छ र यसले  मानिसमा भय, अनिश्चितता पैदा गर्न थाल्छ ।

 

यद्यपि हालको उत्तरआधुनिक चेतनाले कुनैपनि सत्यहरु, परिभाषाहरु, विचारहरुलाई अन्तिम सत्य मान्न नसक्ने र त्यसैगरी क्वान्टम विज्ञानले कुनै पनि कुराहरुलाई ‘ठिक यस्तै खालको’  भनेर व्याख्या गर्न नमिल्ने भन्ने सिद्घान्त अगाडि ल्याएको आजको युगमा पाउलो कोयलोले भने त्यसको ठिक विपरीत हरेक कुराहरु ब्रह्माण्डमा पहिले नै लेखिइसकिएका हुन्छन् भनेर एक खालको भाग्यवादी जस्तो अवधारणलाई अघि सारेका छन् द एल्केमिस्टमा । 


र यस्तो हुँदा हुँदै पनि द एल्केमिस्टलाई एक खास अवस्थामा अत्यन्त सकारात्मक र आशावादी पुस्तक मान्न सकिन्छ । किनकि यसले  मानिसले चाहेको खण्डमा उसका हरेक सपनाहरु पुरा हुन्छ् भनेर स्वीकार गरेको देखिन्छ, र कोयलाे भन्छन् कि, साधारणजस्ता र सामन्य जस्ता लाग्ने हरेक चिजहरु नै अन्ततः सर्वाधिक महत्वपूर्ण हुन्छन् ।

 

कताकता यस्तो लाग्छ कि द एल्केमिस्ट कविताका सुन्दर पङ्क्तिहरु जस्ता लाग्छ् मानौँ खलिल जिब्रानको प्रोफेटमा अभिव्यक्त गरिएका सुन्दर विचारहरुजस्तै र किताबमा जीवनक रहस्यका, दर्शनका, मायाका, ब्रह्माण्डका, सत्यका काफी प्रसङ्गहरु उल्लेख गरिएका छन्। किताब पढ्दा लाग्छ, हामी उपन्यास होइन दर्शनशास्त्र पढिरहेका छौँ । 


अनि पूर्वीय विचार दर्शन खासगरी ब्रह्माण्डीय आत्मा, ब्रह्म र अरेबिक शब्द ‘म्याकतब’ बिच संयोजन देखिन्छ जसको अर्थ हुन्छ ‘एक आत्मा’ । त्यसैगरी अनन्त यात्रा र प्रेम जस्ता जिजसका क्रिस्टियन विचार दर्शन पनि यसमा प्रयोग भएको पाइन्छ । 


पुस्तकले सकारात्मक सन्देश दिएको छ भने हालका मानिसहरु क्षणिक सुखभोग एवम् लिप्साका खेलमा रमाइहेका छन् तर वास्तवमा अनन्त खुशी, माया, प्रेम भने अनन्त विश्वास, त्याग, तपस्या, एवम् जीवनका गहनतम खोजहरुमा, सपनाहरुमा पाइन्छन् । 


पुस्तकले यसबाहेक के सन्देश पनि दिएको छ भने हालका विश्वका मानिसहरु, ग्लोबलाइजेसनको नाममा आफ्ना मौलिक संस्कृति, भेषभुषाहरु क्रमशः भुल्दै गइरहेका छन् र आधुनिक बन्ने चाहनामा आफूसँग भएका सुन्दर मौलिक गुणहरु, समाजमा भएका स्थानीयपनका स्वभावहरु  भुल्दै गइरहेका छन् अर्थात उनीहरु अमेरिकन जस्ता भएका छन्, किनकि अमेरिका एक यस्तो प्रतीक देश हो विश्वव्यापीकरणको, जहाँ हर देशका मानिसहरु बस्छन् र सट्टामा आफ्ना मौलिकताहरु बिर्सिरहेका छन् । 


किनकि मानिस हुनुको सुन्दरता उसका मौलिकताहरुमा भेटिन्छ । मौलिकतामा खुशी भेटिन्छ, मनका कुराहरु भेटिन्छन् तर आधुनिकतामा मानिस हराउँछ, दिग्भ्रमित हुन्छ, अनिश्चित बन्छ, अन्यौलमा हराउँछ, र आधुनिक बनेर पनि पुनः दुःखी बन्छ मानिस । 


दलाई लामाले भनेजस्तो, अहिलेका मानिसहरुले धेरै झ्यालहरु भएका घरहरु त बनाएका छन् तर घरभित्र केही मौलिकता बाँकी छैन र त उनीहरु दुःखी जीवन बाँचिरहन विवश छन्, किनकि उनीहरुसँग आफ्नो मौलिकपन बाँकी छैन ।

 

यस प्रकार कोयले भन्छन् मानिस आफ्ना सपनाका संसारहरुमा निर्धक्क डुल्न सक्नुपर्छ, तथापि आफ्नोपन भुल्नु भने हुँदैन किनकि व्यक्तिको खुशी उः स्वयं भित्र छ , यो बाहिर कतै छैन । यसर्थ एक प्रकारको अनन्तः खोजमा भने मानिस निस्कन सक्नुपछ , एक अव्यक्त खोज जस्तो कि लेखक जेन अस्टिनको म्यान्सफिल्ड पार्क र सेक्सपियरको किङ लियरको जस्तो । 


द एल्केमिस्टको केन्द्रीय विचार के पनि हो भने हामी हाम्रो जीवनको कुनै बेला एउटा यस्तो मोडमा पुग्छौँ जुनबेला हामीले आफूलाई नै नियन्त्रण गर्न सकिरहेका हुँदैनौँ, तथापि यदि हामीले यस्तो अवस्थालाई अनुभव गर्दै वास्तवमै हाम्रा इच्छाहरुलाई गहिराेसँग आत्मसात गर्ने हो भने अन्ततः ती इच्छाहरुलाई ब्रह्माण्डीय अस्तित्वले नै पुरा गरिदिन्छन् । यही सकारात्मक सन्देश पाइन्छ द एल्केमिस्टमा । 


त्यसकारण द एल्केमिस्टले भन्छ कि , ‘तिमी आफूलाई विश्वास गर न कि अरुले तिमीलाई कस्तो बनाउने भन्ने बारेमा। किनकि तिम्रो जिन्दगीको सुन्दरता, अर्थ, महत्व तिमीसँगै छ, त्यसैले तिमी  तिमी हुन सिक । ’ यही हो द एल्केमिस्टको महान शिक्षा । 


र केटो यसप्रकार एन्डालुसियाका भूभागहरु पार गर्दै अन्ततः सहरमा आइपुग्छ । उसले जिप्सी हरुलाई भेट्छ, आफ्नो सपनाको बारेमा बताउँछ, र त्यसको समाधानका उपायहरु खोज्छ । अनि जब केटो एउटा क्रिस्टल व्यापारीकोमा आइपुग्छ, तब उसले त्यहाँ वर्षौँ काम गर्छ र धेरै पैसा जम्मा गर्छ र्   र जहाँबाट उसले फेरि एन्डालुसिया फर्कनुको सट्टा अफ्रिकातर्फको यात्राको क्यारभानमा सामेल हुन्छ ।  


उसले ठूलो साहस गर्छ । नया मानिसहरुलाई भेट्छ , जस्तै एक जना अङ्ग्रेज व्यक्ति, बृद्घ मानिस, सलेमका राजा मेल्चिजेडेक तथा एल्केमिस्ट अर्थात् किमियागर । र तिनीहरु मरुभूमिको पट्यारलाग्दो बाटो पारगर्दै क्रमशः अघि बढिरहन्छन्, पिरामिडतर्फ । तिनीहरु आफ्ना उद्देश्यहरुतर्फ निरन्तर बढ्छन्, आफ्ना सपनाहरु पछ्याउँदै र अन्ततः तिनीहरु मरुभूमिबिचको मरुद्यानमा आइपुग्छन् तब धेरै खुसी हुन्छन् । 


केटोले मरुद्यानमा आइपुगेपछि फतिमालाई भेट्छ् र उसको प्रेममा पर्छ । पिरामड पुग्नु अगाडि तिनीहरुले किमियागरलाई भेट्छन् जसले शीशाको धातुलाई सुनमा परिणत गरिदिन्छ र उसले त्यसका केही सिक्काहरु भिक्षुलाई तथा स्यान्टियागोलाई दिन्छ भने एक टुक्रा चाहिँ आफैँले राख्छ ।


र यसरी सपनाहरु, सपनाका बाटाहरु पछ्याउँदै  केटो अन्ततः इजिप्टको पिरामिड आइपुग्छ । र जब उः पिरामिड आइपुग्छ, तब उसले जमिन खन्न सुरु गर्छ भने त्यस पश्चात केही लुटेराहरु आइपुग्छन् र उः सँग भएको सुनको सिक्का पनि लुटेर लैजान्छन् ।


अनि त्यसमध्येको एकले उसलाई भन्छ, ‘हेर, केटा मैले पनि ठिक यही ठाउँमा बस्दै गर्दा एउटा सपना देखेको थिएँ, ‘कि हजारौँ माइल पर स्पेनको एन्डालुसिया प्रान्तका पुराना चर्चघरका गूलरका रुखमुनि धेरै धनसम्पत्ति गाडिएर राखिएको छ, तर म तिमीजस्तो मरुभूमिहरु पारगरेर त्यहाँसम्म जाने मुर्खता गर्न सक्दिनँ ।’


केटो केही निराश हुन्छ र फेरि आशावादी बन्छ, उसले पिरामिडतर्फ हेर्छ, पिरामिड पनि उसलाई हेरेर हाँसिरहेको हुन्छ, र ऊ पनि हाँस्छ र खुशी बन्छ  ।    

  

र यसप्रकार अन्ततः केटो पुनः स्पेनको एन्डालुसियाको त्यो पुरानो चर्चघरमा पुग्छ र त्यस नजिकका गूलरका रुखहरुमुनि खन्न सुरु गर्छ र साच्चै त्यहाँ उसले अनगिन्ती सुनका सिक्काका थैलाहरु भेट्छ । 


र खुशी हुन्छ केटो, र सोच्छ, आखिर उसको खुशी ऊ संगै नै थियो, उसकै आफ्नै ठाउँमा थियो, जहाँबाट उसले यी अनतिन्ती मोडहरु पार गरेको थियाे जीवनको ।


References: www.study.com

www.kibin.com

www.slideshare.net

Comments

Popular posts from this blog

ESSAY: MEANING OF LIFE PART 2 author: Prakash Thapa

TRIPLE SEVEN'S ALENKA FINK INVOLVED IN FRAUD AND CHEATED EURO 3417 FROM PILOT NISSIM THAPA

TRIPLE SEVEN'S ALENKA FINK INVOLVED IN FRAUD AND CHEATED PILOT NISSIM THAPA