Nissim Diary 1
२८ श्रावण २०८०, शलाेम मार्ग, पाेखरा
निस्सिम डायरी
लेखक: प्रकाश निस्सिम थापा
निस्सिमकाे बानी सानाेबाट नै एकदम शान्त थियाे ।
उसले कहिल्यै धेरै रुने, कराउने र सताउने गर्दैनथ्याे । पुस्तक, पत्र पत्रिका म्युजिकल सामग्रीहरु भएकाे ठाउँमा उसलाई राखेर " बाबु, यहाँका सामानहरु नचलाई शान्तसँग बस है" भनेपछि ऊ लामाे समयसम्म पनि चुपचाप एक्लै खेलिरहन सक्थ्याे । कतिपय अवस्थामा निस्सिम एक्लै खेल्ने , एक्लै ताली बजाउँदै आफैँ खुशी भइरहेकाे देख्न सकिन्थ्याे । बरु ऊ युवावस्थामा आएपछि भने केही फरक जस्ताे लाग्थ्याे । युवावस्थामा चाहिँ ऊ कहिलेकाहिँ रिसाउने, झर्कने जस्ता स्वभावहरु देखाउँथ्याे जुन सामान्यतया सबै युवाहरुमा पाइने गरिन्छ ।
विद्यालय जीवनमा उसकाे पढाइ राम्राे नै थियाे । ऊ धेरै नम्बर ल्याउनमा भन्दापनि नयाँ किसिमका सिकाइमा केन्द्रित हुने खालकाे विद्यार्थी थियाे । उसलाई अक्सर हामीले कहिल्यै धेरै नम्बर ल्याउनुपर्छ भनेर भनेनाैँ पनि ।
पढाइ बाहेक ऊ भ्रमण गर्न ,गितार बजाउन चाहिँ मन पराउँथ्याे । निस्सिम हामी बाबा आमासँग घाेरेपानी ट्रेकिङ पनि गएकाे थियाे । त्यतिबेला म युकेबाट फर्केकाे समय थियाे । मैले उसलाई युकेबाट ल्याइदिएकाे वुलन क्याप उसले घाेरेपानीकाे जंगलमा कतै हराएकाे सम्झना अझैपनि ताजा नै छ ।
बिहानै हामी पुनहिलकाे यात्रामा निस्केर पुन: घाेरेपानी फर्केर बिहानकाे खाना खाई फेरि घान्द्रुकतर्फकाे यात्रामा निस्केका थियाैँ । टाडापानी मा बास बसेर भाेलिपल्ट घान्द्रुक हुँदै हामी पाेखरा फर्केका थियाैँ । घान्द्रुककाे गाउँ तल आइपुगेर हामीले आफ्नाे झाेलामा बनाइराखेकाे वाइवाइ चाउचाउ र चिउराकाे मिश्रण खाजा खाँदै ओराली झर्दै गरेकाे संझना पनि त्यतिकै ताजा नै मानसपटलमा अहिले पनि ।
तर पाेखरा रानीपाैवामा बसेकाे बेलामा हामी अन्नपूर्ण बेसक्याम्प ट्रेकिङगएकाे बेला चाहिँ निस्सिम सानाे नै भएकाेले उसलाई एबिसि ट्रेकिङमा लगेनाैँ । त्यतिबेला मेराे विद्यार्थी इन्द्र थकालीलाई घरमा बाेलाएर निस्सिमसँगै राख्याैँ र हामी दुइजना बाबुआमा चाहिँ एबिसि पदयात्रामा निस्कयाैँ । बाटामा पर्ने गाउँहरु घान्द्रुक, छाेमराेङ, सिनुवा, बेम्बु, हिमालय आदि ठाउँहरु निकै रमाइला देखिन्थे ।
पछि निस्सिम र म दुइजना फेरि घाेरेपानी ट्रेक गयाै । पहिलाे दिन हिलेमा शंकर गेस्ट हाउसमा बसेका थियाैँ । शंकर गेस्टहाउसका घरधनीसँग निकै रमाइला कुराकानीहरु गरेर भाेलिपल्ट बिहानकाे ब्रेकफास्ट पछि निस्सिम र पुनः लाग्याै उल्लेरीकाे ठाडाे उकालाे हुँदै घाेरेपानी तर्फ ।
त्यस्तै एकपटक म , निस्सिम र उसकाे साथी अनुप भएर अर्मलाकाेटकाे पदयात्रामा गएका थियाैँ । अर्मलाकाेट
कलाकार बुद्दि गुरुङकाे गाउँ भएकाेले हामी वहाँकाे पुर्ख्याैली घर पनि पुग्याैँ र क्रमश डाँडागाउँ , भलाम हुँदै बेलुकी मालेपाटन आइपुगेका थियाैँ ।
निस्सिमलाई यसप्रकार पदयात्राकाे रुचि बढाउने कुरामा मैले केही काेशिस गरेकाे थिएँ । तर पछि जब ऊ युवावस्थामा आइपुग्याे उसले,साच्चै नै मेराे पदयात्राका पदचापहरु पछ्याउँदै लामाे दुरीका पदयात्राहरु गरेकाे
थियाे । विशेषत लामाे दुरीका पदयात्राहररु मध्ये गाेसाइंकुण्ड पदयात्रा, मनाङ तिलिचाे ताल पदयात्रा, एबिसि पदयात्राहरु गरेकाे छ ।
तिलिचाे ताल पदयात्रामा जाँदा उसकाे ए लेभल कलेजकाे अत्यन्त नजिककाे साथि रुपेश गुरुङ र निस्सिम दुईजनामात्र गएका थिए।
क्रमशः
Comments
Post a Comment